जानकी (बाँके), २७ वैशाखः गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उहाँको परिवारलाई निकै तनाव भएको थियो ।
“त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ”, पञ्जावीले विगत सम्झिँदै भन्नुभयो, “सबैभन्दा ठूलो चिन्ता साना बालबालिकाको थियो । त्यसमाथि फेरि घर बनाउन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता थियो । धेरै दिनसम्म निद्रा लाग्दैनथ्यो ।”
आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने सम्भावना पनि थिएन, तर नेपालगञ्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम उहाँका लागि वरदान भयो । राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमाअन्तर्गत रु दुई लाख ३२ हजार ९०० दाबी भुक्तानी पाएपछि पञ्जावीको घर फेरि ठडिएको छ ।
नगरप्रमुख प्रशान्त विष्टले पहिलो लाभग्राहीका रूपमा चेक हस्तान्तरण गर्दा आफू भावुक बनेको क्षण सम्झिँदै उहाँले भन्नुभयो, “पहिले घरको बिमा किन गरिरहनुप¥यो र भन्ने लागेको थियो, घर भत्किएपछि पो थाहा पाइयो बिमाको महत्त्व । हाल त्यही बिमाका कारण ओत लाग्ने अवस्था बनेको छ । आवास बिमा कार्यक्रम विपद्को समयमा गरिब तथा न्यून आय भएका परिवारका लागि त ठूलो सहारा हुँदो रहेछ ।”
नेपालगञ्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ । जोखिमयुक्त परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म एक सय ८४ परिवारमा यसमा आबद्ध भएका छन् ।
नगरप्रमुख विष्टले विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुअघि नै सुरक्षाको आधार तयार गर्ने उद्देश्यसहित आवास बिमा कार्यक्रम लागू गरिएकामा हाल प्रभावकारी बन्दै गएको बताउनुभयो । “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न पूर्वतयारी गर्न सकिन्छ । सोही सोचअनुसार सुरु गरिएको बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ”, उहाँले भन्नुभयो ।
नगरप्रमुख विष्टले दुई वडाबाट सुरु गरिएको कार्यक्रम हाल वडा नं ८ र ११ मा पनि विस्तार गरिएको र आगामी दिनमा सबै वडाका जोखिमयुक्त परिवारलाई यसमा समेट्ने योजना रहेको जानकारी दिनुभयो । नेपालगञ्जले सुरु गरेको यस्तो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने तयारी गरेका छन् ।
विपद् सम्पर्क व्यक्ति दिपेन्द्र श्रेष्ठले आवास बिमा कार्यक्रमले समुदायमा विपद्बारे सचेतना बढाउनुका साथै क्षतिपछि पुनःस्थापनामा सघाउ पुगेको बताउनुभयो । “पहिला नागरिकले बिमा भनेपछि झन्झट मान्थे, हाल लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ”, उहाँले भन्नुभयो,“यसबाट प्रभावित हुँदै अन्य स्थानीय तहले पनि कार्यक्रम लागू गर्ने तयारी गरेका छन् । यो राम्रो पक्ष हो ।”
यहाँ बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले ब्यहोर्ने गरेको छ भने क्षतिको अवस्थाअनुसार बिमितलाई रु १५ लाखसम्म रदिने व्यवस्था गरिएको छ ।
स्थानीयवासीका अनुसार पछिल्ला वर्षमा अविरल वर्षा, डुबान र हावाहुरीका घटना बढ्दै गएका छन् । यसबाट कमजोर संरचना बनाएर बस्ने परिवार बढी प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा आवास बिमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यसका लागि यहाँ कार्यान्वयनमा रहेको विपद् पूर्वतयारी तथा व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपीलगायत विभिन्न संस्थाको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गर्दै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गरिरहेको छ ।
