काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ले आगामी वैशाख २६ गते देखि जेठ ३ गतेसम्म “मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week)” मनाउने निर्णय गर्दै विभिन्न उद्योग तथा व्यवसायिक संस्थालाई आवश्यक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको पत्रमार्फत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थालाई सप्ताहव्यापी कार्यक्रम प्रभावकारी बनाउन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार उद्योग, पैठारीकर्ता, सप्लायर्स, खुद्रा विक्रेता तथा सम्पूर्ण सेवाप्रदायक क्षेत्रसँग सम्बन्धित छाता संस्थाले आफ्ना मातहतका व्यापारी तथा व्यवसायीलाई उपलब्ध गराइने वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य रूपमा सबैले देख्ने गरी राख्न आग्रह गर्नुपर्ने उल्लेख गरिएको छ।
उक्त अभियानले बजारमा मूल्य पारदर्शिता कायम गर्न, उपभोक्तालाई सही सूचना उपलब्ध गराउन तथा अनियमितता नियन्त्रणमा सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ।
