काठमाडौं, १५ साउन । छिमेकी मुलुक मोरक्कोबाट आप्रवासीहरूको ठूलो समूह उत्तर अफ्रिकामा रहेको स्पेनको भूभाग ‘सेउटा’को सीमा पार गर्ने क्रममा कम्तीमा ९ जनाले ज्यान गुमाएका छन ।
सेउटा सरकारले बिहीबार पछिल्लो १० दिनको अवधिमा १ हजार ५ सय देखि २ हजार जना मानिसहरू त्यहाँ प्रवेश गरेको जानकारी दिएलगत्तै यी मृत्युका घटनाहरू सार्वजनिक भएका हुन्। शुक्रवार पनि थप सयौं आप्रावासीहरू सिमा नजिक आइपुगेको अनुमान गरिएको छ ।
यसै परिस्थितिका कारण क्षेत्रीय अध्यक्ष जेसस भिभासले ‘पूर्ण मानवीय तथा सामाजिक संकटकाल’ घोषणा गर्दै सीमामा पुनः नियन्त्रण कायम गर्न सेना पठाउन मड्रिडसँग आग्रह गरेका छन्।
स्पेनको गृह मन्त्रालयले आप्रवासी संकटको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने मागलाई अस्वीकार गरे पनि मन्त्रालयले थप स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। जसअनुसार गृह मन्त्रालयले सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्न स्पेनी सेनाका ६० जना जवानहरू खटाइएको छ।
भिडियो फुटेजमा केही आप्रवासीहरू स्पेनको भूभागमा प्रवेश गर्दा ‘भिभा एस्पाना’ अर्थात स्पेन जिन्दाबाद भन्दै नारा लगाइरहेको देखिन्थ्यो । उनीहरूमध्ये धेरैजसो मोरोक्कोतर्फबाट हावा भरिने साना डुङ्गा वा साधनहरूको प्रयोग गरी जलमार्ग हुँदै आएका थिए।
आप्रवासी अधिकारकर्मी जकारिया जारोकीका अनुसार आप्रवासीहरूको संख्यामा देखिएको यो वृद्धि मे २०२१ को घटनासँग मिल्दोजुल्दो छ । त्यतिबेला केही दिनभित्रै करिब १० हजार मोरोक्कन र उप सहारा क्षेत्रका युवाहरू उक्त स्पेनिस भूभागमा प्रवेश गरेका थिए।

