चलचित्र ‘म मदनकृष्ण’ को छायांकन सुरु, चैत ४ गते प्रदर्शन हुने

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रको छायांकन काठमाडौं, पाँचखाल र पनौतीमा गरिनेछ। निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गर्दै चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा ल्याउने जनाएको छ ।

निर्देशक मिलन चाम्सले मदनकृष्ण श्रेष्ठको संघर्ष, सफलता र जीवनका विभिन्न आरोह–अवरोहलाई समेटेर चलचित्र निर्माण गरिने बताएका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी श्रीमती यशोदाको भूमिका केकी अधिकारीले निर्वाह गर्नेछिन् । अरुण क्षेत्रीले हरिवंश आचार्य र वर्षा राउतले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन् । 

चलचित्रमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसीलगायत कलाकारको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर आरआर फिल्म्सले चलचित्र वितरण गर्नेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।