चलचित्रमा ‘साम्राज्य’ मा अमरप्रतापको प्रवेश

काठमाडौँ । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता अमरप्रताप श्रेष्ठ अनुबन्धित भएका छन् ।

सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप चलचित्रको कलाकार टोलीमा जोडिएका हुन् ।

निर्देशक चौधरीका अनुसार अमरप्रतापले यही चलचित्रका लागि साढे दुई वर्षदेखि अभिनय, एक्सन, मार्सल आर्ट र नृत्यको प्रशिक्षण लिइरहेका थिए। लामो तयारी र मेहनतपछि उनलाई चलचित्रको मुख्य भूमिकामध्ये एकमा छनोट गरिएको उनले बताएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गरिनेछ। यसको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसपटक पहिलेभन्दा ठूलो क्यानभासमा चलचित्र निर्माण गर्ने तयारी गरेका छन् ।

निर्माण पक्षका अनुसार यो नेपाली चलचित्रकै ठूलो आकारको एक्सन चलचित्र बन्नेछ। चलचित्रको छायांकन केही समयपछि सुरु हुने र करिब ७० दिनसम्म चल्नेछ। छायांकनको अधिकांश भाग पूर्वी नेपालमा गरिने तयारी छ ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। मानकृष्ण महर्जन छायांकन निर्देशक र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन् । चलचित्रको डिजिटल साझेदार ओएसआर डिजिटल, प्रचारप्रसार साझेदार टौवा स्टुडियो र वितरक डिसीएन रहेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।