काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको ‘गौंथली’ ले १ लाख ४६ हजार ६६४ टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार आम्दानी गरेको छ ।
त्यस्तै, कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ३ लाख ४६ हजार ४२७ टिकट बिक्रीबाट १० करोड ७६ लाख ७३ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६२ हजार २०१ टिकट बिक्री गर्दै १० करोड २८ लाख २८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख १३ हजार ११४ टिकट बिक्रीबाट ६ करोड २४ लाख ७० हजार आम्दानी गरेको छ । यस्तै, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘बा : एक योद्धा’ले १ लाख २७ हजार २१७ टिकट बिक्री गर्दै ३ करोड ५४ लाख ४० हजार कमाएको छ ।
यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ३ हजार ९७९ टिकट बिक्रीबाट ३ करोड ३४ लाख ८४ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७४ हजार ८०३ टिकट बिक्री गर्दै २ करोड २९ लाख ५७ हजार आम्दानी गरेको छ ।

