काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र विगतका उपलब्धि संकटमा परेको भन्दै विचार मिल्ने शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
प्रचण्डले नेपाली जनताले पटक-पटक कम्युनिस्ट शक्तिलाई ठूलो समर्थन र मत दिए पनि आन्दोलन तथा उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए । उनले विगतका कमजोरी र त्रुटिको गम्भीर आत्मसमीक्षा गर्न कम्युनिस्ट नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
उनले आफूहरू विगतमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै अहिलेको परिस्थितिले सबैलाई पुनः एकताका लागि सोच्न बाध्य बनाएको बताए । गम्भीर आत्मसमीक्षा नगरे कम्युनिस्ट शक्तिबीचको एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो।

