काठमाडौं, ७ भदौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना प्रकाउ परेका छन ।
काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे ।
एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावाससँग समन्वय गरी निज महिलाको उद्दार गरी कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-७ थापागाउँबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक संजाल फेसबुक, ह्वाटस्एप लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरूसँग अनलाईन मार्फत सम्पर्क गरी विभिन्न प्रलोभनहरू देखाई आकर्षक तलव सुविधामा घरेलु कामदारको रूपमा कुवेत पठाई दिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौं बोलाई तारकेश्वर नगरपालिका-७ थापागाउँस्थित कोठा भाडामा लिई सम्पर्कमा आएका ९ जना महिलाहरूलाई कुवेत पठाउन लागेको खुल्न आएको छ । साथै प्रहरीले ९ जना पीडित महिलाहरूलाई उद्दार गरेको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मानव वेचबिखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौं पठाईएको छ ।

