वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन महसुलमा सहुलियत दिइने

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् ।

विराटनगरमा उद्योगी–व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै उपयोग गर्ने गरी महसुल संरचनामा सुधार गर्न सरकार केन्द्रित रहेको बताए ।

उनका अनुसार सुनसरी–मोरङ क्षेत्रमा नौवटा नयाँ विद्युत् उपकेन्द्र थपिँदै छन् । ती सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो हुने उनले बताए । उद्योगी-व्यवसायीलाई नयाँ उद्योग स्थापना गर्नुअघि उपलब्ध विद्युत् क्षमता र आवश्यक पूर्वाधारबारे स्पष्ट जानकारी दिने व्यवस्था गर्नसमेत काम भइरहेको उनको भनाइ छ।

छलफलमा उद्योगी–व्यवसायीले नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता, बर्जु र केरौन उपकेन्द्रको निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने तथा कटहरी औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार गर्नुपर्ने माग राखेका छन्। उनीहरूले उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन माग शुल्क हटाउनुपर्ने र विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने मागसमेत गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।