शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन

श

काठमाडौँ । नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभागको प्रतिवेदनअनुसार आरोहण अनुमति लिनेमा १ हजार ६९ जना पुरुष र ३४१ जना महिला रहेका छन् । कुल १६१ आरोहण समूहले ४४ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

प्रतिवेदनअनुसार सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि अनुमति लिएका छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ समूहका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबाट १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

यसैगरी, छ हजार ८१४ मिटर अग्लो आमादब्लम हिमाल आरोहणका लागि ३२ समूहका ३८६ जनाले अनुमति लिएका छन् । तीमध्ये २९० पुरुष र ९६ महिला छन्। यस हिमालबाट ३ लाख ७८ हजार अमेरिकी डलर अर्थात् ५ करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । सात हजार १२६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणका लागि १२ समूहका १२१ जनाले अनुमति लिएका छन्। यसबाट ४८ हजार ४०० अमेरिकी डलर अर्थात् ७४ लाख २७ हजार ७२० रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शरद ऋतुमा चार जनाले अनुमति लिएका छन् । आठ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाका लागि एक समूहका तीन पुरुष र एक महिलाले अनुमति लिएका हुन् । यसबाट २० हजार अमेरिकी डलर अर्थात् ३० लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालका लागि ३७ जनाले अनुमति लिएका छन् भने सात हजार १२९ मिटर अग्लो बरुणत्से हिमालका लागि ६५ जनाले अनुमति लिएका छन्। सात हजार ७५५ मिटर अग्लो गङ्गापूर्ण पश्चिम हिमालका लागि ६ जनाले अनुमति लिएको विवरणमा उल्लेख छ।

विभागका अनुसार नेपालसहित ७६ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । सबैभन्दा धेरै चीनका १४१ जना, फ्रान्सका १३० जना, संयुक्त राज्य अमेरिकाका ११९ जना, रुसका १०८ जना, जर्मनीका ९७ जना र बेलायतका ९६ जना रहेका छन् । अस्ट्रेलियाका ४२, क्यानडाका ३७, जापानका ३५ र नेपालका ३३ जनाले अनुमति लिएका छन्। इटालीका ४७, स्विट्जरल्यान्डका ४७, दक्षिण कोरियाका १० र भारतका ४० जनाले पनि आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।