तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो

त

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ ।

भन्सार विभागको साउन, भदौ र असोज महिनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवै बढेका छन् । तर निर्यातको तुलनामा आयातको आकार ठूलो रहेकाले व्यापार घाटासमेत बढेको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको थियो । यससँगै आयात ३८.१८ प्रतिशतले बढेको छ ।

यस अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको थियो । आयातभन्दा निर्यातको वृद्धिदर उच्च देखिए पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत मात्रै रहेको छ ।

आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत रहेको छ भने आयात–निर्यात अनुपात ६.४३ बाट घटेर ५.६६ मा झरेको छ । यसले निर्यातको वृद्धिदर बढे पनि नेपालको वैदेशिक व्यापारमा आयातको प्रभुत्व कायम रहेको देखाउछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।