घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय चाबहिलका अमिन टोप जङ खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै अमिन खत्रीले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा खत्रीले आफ्नो पद तथा जिम्मेवारीसँग सम्बन्धित काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

खत्री नापी कार्यालय चाबहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली, गोकर्ण–माकलबारीमा कार्यरत अमिन रहेको जनाइएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना सजायको मागदाबी गरेको छ। सोही मागदाबीका साथ आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।