काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका-१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं महानगरपालिका-७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये गणेश बहादुरले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, झगेले युरोप पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ, कमलले अजरबैजना पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र शारदाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका-६ बाट र झगेलाई काठमाडौं महानगरपालिका-२१ बाट तथा कमललाई काठमाडौं महानगरपालिका-१६ बाट र शारदालाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

