विश्व बाघ दिवस: नेपालमा ३५५ बाघ, सङ्ख्या वृद्धिसँगै व्यवस्थापनमा चुनौती

काठमाडौँ — प्रत्येक वर्ष जुलाई २९ मा मनाइने ‘विश्व बाघ दिवस’का अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणनाको तथ्याङ्क सार्वजनिक गर्दैछ। मन्त्री गिता चौधरीको उपस्थितिमा उक्त विवरण सार्वजनिक गर्न लागिएको हो।

सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनको घोषणापछि बाघको तीव्र रूपमा घट्दो सङ्ख्या रोक्न र प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

नेपालमा बाघको वर्तमान अवस्था

नेपालमा सामान्यतया प्रत्येक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको कुल सङ्ख्या ३५५ पुगेको छ।

प्रमुख निकुञ्जहरूमा बाघको वितरण:

  • चितवन राष्ट्रिय निकुञ्ज: १२८
  • बर्दिया राष्ट्रिय निकुञ्ज: १२५
  • पर्सा राष्ट्रिय निकुञ्ज: ४१
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: ३६
  • बाँके राष्ट्रिय निकुञ्ज: २५

नेपालमा तराई भूपरिधिका ५ वटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन र जैविक मार्गमा मात्र बाघ पाइन्छ। सन् २०१० मा १२१ वटा मात्र रहेको बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्यअनुरूप नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गरेको छ।

विश्वव्यापी चित्र: ५ हजार नाघ्यो बाघको सङ्ख्या

विश्वभर एसियाका १३ वटा देशमा मात्र प्राकृतिक रूपमा बाघ पाइन्छ। सन् २०१० मा विश्वभर करिब ३,२०० को सङ्ख्यामा रहेका बाघ सन् २०२५ को तथ्याङ्कअनुसार बढेर ५,३५७ पुगेका छन्।

विभिन्न देशहरूमा बाघको सङ्ख्या:

  • भारत: ३,१६७
  • रुस: ७५०
  • इन्डोनेसिया: ४००
  • नेपाल: ३५५
  • थाइल्यान्ड: १८९
  • भुटान: १५१
  • मलेसिया: १५०
  • बङ्गलादेश: १४६
  • म्यान्मार: २२
  • चीन: २०
  • भियतनाम:
  • लाओस:

कसरी गरियो पछिल्लो सर्वेक्षण?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा वन तथा भूसंरक्षण विभाग, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, WWF नेपाल र ZSL नेपालको सहयोगमा सर्वेक्षण सम्पन्न भएको हो।

  • क्षेत्र विभाजन: चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीनवटा कम्प्लेक्समा विभाजन गरी सर्वेक्षण गरियो।
  • प्रविधि र जनशक्ति: २×२ किमीको ग्रिडमा १,१०० स्वचालित क्यामेरा (क्यामेरा ट्याप) राखिएको थियो। करिब २५० जना जनशक्ति परिचालन गरी १५ दिन (रात) सम्म लिइएका तस्बिरहरूको विश्लेषण गरेर सङ्ख्या निकालिएको हो।

सङ्ख्या वृद्धिसँगै व्यवस्थापनका नयाँ चुनौती

बाघको सङ्ख्या बढेसँगै नेपालमा यसको ‘धान्ने क्षमता’ (Carrying Capacity) र व्यवस्थापनबारे बहस सुरु भएको छ। अध्ययनअनुसार वातावरणीय दृष्टिले नेपालले करिब ४०० सम्म बाघ धान्न सक्छ।

मुख्य चुनौतीहरू:

१. मानव-बाघ द्वन्द्व: घाँस-दाउरा वा चरनका लागि मध्यवर्ती क्षेत्रमा जाने स्थानीयमाथि बाघको आक्रमण।

२. पूर्वाधार र चोरी-सिकारी: ठूला पूर्वाधार पार गर्दा हुने दुर्घटना र चोरी-सिकारी।

३. समस्याग्रस्त बाघको व्यवस्थापन: हाल मुलुकभर १६ वटा समस्याग्रस्त बाघलाई खोरमा राखिएको छ। (चितवनमा ५, बर्दियामा ५, जावलाखेल सदर चिडियाखानामा ५ र बाँकेमा १)।

समाधानको प्रयास: चितवनमा ‘टाइगर सेन्चुरी’

समस्याग्रस्त बाघको हेरचाह र उपचार खर्चिलो बन्दै गएकाले मन्त्रालयले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ (बाघ संरक्षण क्षेत्र) निर्माणको योजना अघि बढाएको छ। यसबाट घाइते तथा समस्याग्रस्त बाघले प्राकृतिक वातावरण पाउने र पर्यापर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।