काठमाडौँ, नेपाल – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई बलात्कार अभियोगमा प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, अदालतबाट झाविरुद्ध पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीले झाविरुद्ध अनुसन्धान अगाडि बढाउने क्रममा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद समेत लिएको छ।
पूर्वप्रदेश प्रमुख झा २०७७ साल फागुन ७ गते मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई उक्त पदमा नियुक्त गरेको थियो।
प्रदेश प्रमुख हुनु अघिसम्म झा मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशकका रूपमा क्रियाशील थिए।
