काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले यसअघि मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो ।
संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही नगरेको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय गरिएको तथा वार्तामा गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाएको छ। संघले यसलाई अत्यन्त लज्जास्पद र दुःखद अवस्था भएको जनाएको छ ।
संघले घोषित कार्यक्रमअनुसार आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ । त्यसैगरी, बिहान १० बजे काठमाडौँ उपत्यकाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन् । काठमाडौँ उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनमा विशेषज्ञ समाज, निजी स्वास्थ्य संस्थाहरूको संगठन, स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।
साथै आन्दोलनका कारण आम नागरिकलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारकै हुने संघले स्पष्ट पारेको छ।

