फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

मन्त्री मेहताले यो घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाएको जानकारी दिएकी छन् ।

‘हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार,सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छ। त्यसैले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री मेहताले भनेकी छन्, ‘घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको छ र अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइनेछ।’

छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्री मेहताको भनाइ छ । 

बुधबार बिहान सगरमाथा अस्पताल सुत्केरी गराउन गएकी बबिता पासवानलाई बिनापैसा उपचार गराउन नसक्ने भनेपछि उनी अस्पतालबाट बाहिरिएकी थिइन् । उनले राति नै बच्चालाई फुटपाथमा जन्म दिएकी थिइन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।