आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदाको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन मस्यौदामा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। हाल आमाले पाउने ९८ दिनको प्रसूति बिदालाई बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव छ ।

मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था, सम्मानजनक प्रसूति सेवा तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसा रोक्ने कानुनी व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएकाले अभिभावकत्वमा बुबाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

मन्त्रालयका अनुसार बदलिँदो पारिवारिक संरचना, जीवनशैली तथा आमा र नवजात शिशुको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर सुरक्षित मातृत्वसम्बन्धी कानुन संशोधन अघि बढाइएको हो । कानुन मन्त्रालयबाट प्रक्रिया पूरा भएपछि विधेयक मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।