वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौं महानगरपालिका-१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया बिमला थापा, ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् । 

पक्राउ मध्ये मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रूपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रूपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रूपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मुन्नालाई काठमाडौं महानगरपालिका-१२ बाट, भुमिकालाई ललितपुर महानगरपालिका-२६ बाट, बिमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र केशव बहादुरले काठमाडौं महानगरपालिका-९ बाट तथा बिनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।