सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा जिम्बाबेमाथि भारतको जित

काठमाडौँ । वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर मयंक यादवको उत्कृष्ट पुनरागमनको मद्दतमा भारतले जिम्बाब्वेलाई पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ ।

हरारे खेल मैदानमा बिहीबार सम्पन्न तीन खेलको सिरिजको पहिलो खेलमा जित निकाल्दै श्रेयस अय्यरको कप्तानीमा भारतले पहिलो जित दर्ता गरेको हो । यससँगै भारतले सिरिजमा १-० को अग्रता पनि बनाएको छ ।

टस जितेर पहिले बलिङ रोजेको भारतले जिम्बाब्वेलाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२५ रनमा सीमित गरेको थियो । जवाफमा भारतले १३.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

१२६ रनको सामान्य लक्ष्य पछ्याएको भारतको सुरुआत भने राम्रो हुन सकेन । ओपनर अभिषेक शर्मा केवल एक रन बनाएर पेभेलियन फर्किए। त्यसपछि मैदानमा आएका वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै परिवर्तन गरे । वैभवले केवल १९ बलमा चार चौका र चार छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए । उनले आफ्नो अर्धशतक मात्र १८ बलमा पूरा गर्दै नयाँ कीर्तिमान बनाए । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भए पनि त्यसबेलासम्म खेल भारतको पूर्ण नियन्त्रणमा पुगिसकेको थियो । वैभव आउट भएपछि ईशान किशनले २४ बलमा ३५ रनको उपयोगी योगदान दिए भने कप्तान श्रेयस अय्यर २४ बलमा २८ रन बनाएर अविजित रहे। भारतले ४० बल बाँकी रहँदै सहज जित हात पार्यो।

अब सिरिजको दोस्रो खेल शनिबार हुने तालिका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।