काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली युवा बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुवात गरेका छन् । सुरुवाती खेलहरूमा नेपाली बलरले विदेशी खेलाडी सम्मिलित टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्दै उत्कृष्ट बलिङ गरेका छन् ।
जनकपुर बोल्ट्सका राहुल यादव, कर्णाली याक्सका उनिश विक्रम ठकुरी, चितवन राइनोजका कमल सिंह ऐरी तथा लुम्बिनी लायन्सका किशोर महतो र शेर मल्लले आफ्नो प्रदर्शनबाट ध्यान खिचेका छन् ।
जनकपुर बोल्ट्सका राहुल यादवले कर्णाली याक्सविरुद्ध कसिलो बलिङ गर्दै चार ओभरमा १५ रन मात्र दिएर दुई विकेट लिए । कम रन खर्चेर विकेट लिने उनको प्रदर्शनले कर्णालीका ब्याट्सम्यानलाई दबाबमा राख्न मद्दत गरेको थियो । यस्तै, कर्णाली याक्सका उनिश विक्रम ठकुरीले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित २२ रन दिएर तीन विकेट लिए । उनको प्रदर्शन कर्णालीको जितको आधार बनेको थियो । उनिशले विपक्षी टोलीका ब्याट्सम्यानलाई खुलेर खेल्न नदिँदा जनकपुरको ब्याटिङ प्रभावित भएको थियो ।
चितवन राइनोजका कमल सिंह ऐरीले विराटनगर किंग्सविरुद्ध घातक बलिङ गर्दै चार ओभरमा २६ रन दिएर चार विकेट लिए । उनको उत्कृष्ट प्रदर्शनले चितवनलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्यो । चार विकेट लिने क्रममा कमलले विपक्षी टोलीका प्रमुख ब्याट्सम्यानलाई पवेलियन फर्काएका थिए । कमलले विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, रुपेश सिंह र बसिर अहमदलाई आउट गरेका थिए ।
त्यसैगरी, प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपाली बलरले प्रभावशाली प्रदर्शन गरेका थिए । लुम्बिनी लायन्सका किशोर महतोले सुदूरपश्चिम रोयल्सविरुद्ध चार ओभरमा २२ रन दिएर चार विकेट लिएका थिए । लुम्बिनीकै शेर मल्लले चार ओभरमा ११ रन मात्र खर्चेर तीन विकेट लिए । उनीहरूको कसिलो बलिङले सुदूरपश्चिमको ब्याटिङमा दबाब सिर्जना गरेको थियो । उता सुदूरपश्चिम रोयल्सका अनिल खरेलले लुम्बिनीविरुद्ध दुई ओभरमा नौ रन दिएर दुई विकेट लिएका थिए ।
एनपीएलको सुरुवाती प्रदर्शनले नेपाली बलरहरू विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाएको, जुन नेपाली क्रिकेटका लागि निकै राम्रो संकेत देखिएको छ । राहुल, उनिश, कमल, किशोर र शेरको प्रदर्शनले नेपाली क्रिकेटमा बलिङतर्फ नयाँ सम्भावना देखाएको छ । विशेषगरी कम रन खर्चेर महत्त्वपूर्ण विकेट लिने र विपक्षी टोलीको ब्याटिङ क्रमलाई दबाबमा राख्ने उनीहरूको क्षमताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

