मादक पदार्थ सेवनपछि सवारी चलाएको स्वीकारेपछि वार्नरको संकट बढ्यो

काठमाडौँ । अष्ट्रेलियाली क्रिकेटर तथा सिड्नी थन्डरका कप्तान डेभिड वार्नरले मादक पदार्थ सेवनपछि सवारी चलाएको आरोप स्वीकार गरेपछि उनको कप्तानीमाथि प्रश्न उठेको छ ।

सुनुवाइमा वार्नर स्वयं अदालतमा उपस्थित हुनुपरेन । उनका कानुन व्यवसायी बबी हिलले इस्टर पर्वका दिन मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोप वार्नरले स्वीकार गरेको जानकारी दिए ।

प्रहरीका अनुसार अप्रिल ५ मा सिड्नीको पूर्वी क्षेत्रमा सडक परीक्षणका क्रममा वार्नरको सवारी रोकेर जाँच गरिएको थियो । त्यसपछि थप परीक्षणका लागि प्रहरी कार्यालय लगिएको वार्नरको रगतमा मदिराको मात्रा ०.१०४ प्रतिशत मापन गरिएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो ।

उनका कानुन व्यवसायीका अनुसार वार्नरले साथीको निवासमा तीन गिलास मदिरा सेवन गरेका थिए । त्यसपछि सार्वजनिक सवारी प्रयोग गर्नुको सट्टा आफैं सवारी चलाउने निर्णय गर्नु आफ्नो ठूलो गल्ती भएको उनले स्वीकार गरेका छन् ।

हिलले वार्नर आफ्नो गल्तीप्रति पछुतोमा रहेको र अदालतसँग नरम सजायको आग्रह गर्ने बताए । यद्यपि उनले अन्य नागरिकसरह कानुनी कारबाही भोग्न तयार रहेको पनि जनाइएको छ । यस मुद्दाको सजाय निर्धारण अगस्ट १८ मा हुने तय भएको छ ।

वार्नरले आरोप स्वीकार गरेसँगै सिड्नी थन्डरको कप्तानका रूपमा उनको भविष्य अन्योलमा परेको छ । 

सिड्नी थन्डर, सिड्नी सिक्सर्स र न्यु साउथ वेल्स ब्लुज राज्य सरकारसँग मिलेर मादक पदार्थ सेवनपछि सवारी नचलाउन जनचेतना अभियान सञ्चालन गर्दै आएका छन् ।

वार्नर पाकिस्तान सुपर लिगमा कराँची किङ्सको कप्तानी सम्हालेर फर्किने क्रममा पक्राउ परेका थिए ।

यसअघि सन् २०१८ मा दक्षिण अफ्रिकामा भएको बल छेडछाड प्रकरणपछि वार्नरमाथि आजीवन नेतृत्व गर्न प्रतिबन्ध लगाइएको थियो । उक्त प्रतिबन्ध सन् २०२४ मा हटाइएपछि उनी सिड्नी थन्डरको कप्तान नियुक्त भएका थिए । अहिले भने नयाँ घटनाले उनको कप्तानी फेरि संकटमा परेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।