श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाउनुभएको हो ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग यथावत रहेको उल्लेख गर्दै उहाँले सभामुखबाट सो अभिव्यक्ति हटाउने आदेशको व्यग्र प्रतीक्षामा रहेको बताउनु भयो ।
त्यसैगरी, सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट भएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति उहाँले विरोध जनाउनु भयो । माईतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अजय सोदारी र बिरजन बिकलाई प्रहरीले नियन्त्रणमा लिएर झुट्टा मुद्दा चलाउन खोजेको भन्दै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । देशभक्त युवाहरूलाई दुःख नदिन र उनीहरूलाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो ।
प्रहरीको पछिल्लो कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसद राईले विद्यार्थीहरूको मोबाइल खोसेर नष्ट गरिएको र एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो,‘विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र गरिबको टेम्पो भीरबाट गुल्ट्याउने जस्ता अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्छ ।’
पीडित चालकलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत उहाँले माग गर्नुभयो । सुरक्षाकर्मीबाटै सर्वसाधारणको घरको छानामा ढुङ्गा प्रहार गर्ने जस्ता उश्रृृङ्खल गतिविधि भइरहेको उल्लेख गर्दै उहाँले प्रहरीको उपस्थितिमा नागरिकले सुरक्षाको साटो त्रास महशुस गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गर्नुभयो । प्रहरी देख्दा नागरिकले सुरक्षा र शान्तिको महसुस गर्ने वातावरण सिर्जना गर्न र लोकतन्त्रको ग्यारेन्टी गर्न सांसद राईले सरकारसँग जोडदार माग गर्नुभयो ।

