नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तिब्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यार्सागुम्वा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताउनुभएको हो । उहाँले सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापन ध्यान दिन माग गर्नुभयो । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उहाँको भनाई छ । जलवायु परिवर्तन, अव्यवस्थित संकलनलगायतका कारणले यार्सागुम्बाको उत्पादनमा निन्तर गिरावट आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले यार्सागुम्बाको उत्पादन घट्नु एउटा जडीबुटीको मात्र समस्या नभई सम्पूर्ण हिमाली अर्थतन्त्रमा असर पर्ने विषय भएको बताउनुभयो । उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौं परिवारको आम्दानी गुमेको र धेरै घरपरिवारमा खाद्य संकटको चिन्ता बढेको उहाँले उल्लेख गर्नुभयो । सांसद बुढाले वर्षौंदेखि यार्सागुम्बाबाट राज्यले करोडौं रुपैयाँ राजश्व संकलन गरे पनि संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा प्रभावकारी पहल नदेखिएको आरोप लगाउनु भयो ।
उहाँले सरकारसमक्ष तीनबुँदे माग प्रस्तुत गर्दै यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, ब्रान्डिङ र दिगो बजार व्यवस्थापनका लागि वैज्ञानिक तथा दीर्घकालीन नीति तत्काल ल्याउन आग्रह गर्नुभयो ।
उहाँले प्रभावित परिवारको अवस्था मूल्याङ्कन गरी आवश्यक राहत उपलब्ध गराउन र डोल्पामै यार्सागुम्बासहित अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी दिगो पर्यटन तथा स्थानीय रोजगारीसँग जोडिएको विशेष जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । सांसद बुढाले हिमाली जनताको आवाजप्रति संवेदनशील बन्न सरकारसंग आग्रह गर्नुभयो ।

