उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने सर्वदलीय बैठकको निर्णय

काठमाडौं, ३१ भदौ । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले मूलभूत रूपमा दुईवटा निर्णय गरेको हो ।

रास्वपा प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणका कामबारे गहन समीक्षा भएको बताएका छन् ।
सर्वदलीय बैठकपछि बोल्दै उनले सरकार, राजनीतिक दल, स्थानीय तहलगायत राज्यका विभिन्न निकायबाट भइरहेको कामबारे छलफल भएको बताए ।

‘भोटेकोशीको बाढी र त्यसपछिको खोजी उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणसम्मको कामहरुको सन्दर्भमा खासगरेर संसदमा प्रतिनिधित्व गर्ने महत्वपूर्ण राजनीतिक दलहरुसँग आज छलफल गरिएको छ । जहाँ नेपाल सरकारको तर्फबाट पनि सहभागिता भएको छ,’ उनले भने, ‘आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थिति रहेको थियो । भोटेकोशीको बाढी खोजी उद्धार, राहत, पुन:स्थापना र पुनर्निर्माणसम्मको काममा सरकार, राजनीतिक दलहरु, स्थानीय तहहरु लगायत राज्यका विभिन्न निकायबाट भइरहेको कामको सन्दर्भमा गहन, समीक्षा छलफल भएको छ ।’

खरेलले बैठकले दुईवटा महत्वपूर्ण निर्णय गरेको जानकारी दिए । उनका अनुसार रास्वपा सभापति रवि लामिछानेले भदौ ११ गते आह्वान गरेको सर्वदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको छ ।

बैठकले एक हप्ताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्न पहल गर्ने निर्णय गरेको उनले बताए । समितिमा संसदमा दलहरुले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधित्व रहने उनको भनाइ छ ।

‘बैठकले सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन सबैको सहमति रहेको छ । तत्कालै एक हप्ताभित्र संसदीय समिति पनि बनाउने र त्यो समितिमा सबै दलहरुको संसद्मा प्राप्त सिटको संख्याको आधारमा प्रतिनिधित्व रहनेगरी समिति बनाउने र त्यो समिति बनाउनको लागि पहल गर्ने, त्यसको लागि संसदमा सभामुखलाई अनुरोध गर्ने र सम्मानित संसद्समक्ष पनि सर्वदलीय राजनीतिक संयन्त्रले पनि अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।