काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ ।
बिहीबार भएको भेटमा गत अगस्टमा आएको बाढीपछिको पुनर्निर्माणको विषयमा छलफल भएको छ
अमेरिकाले नेपाललाई भोटेकोशी बाढी पछि ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाले बाढी प्रतिकार्य तथा पुनःस्थापनामा नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने दाताका रूपमा भूमिका निर्वाह गरिरहेको जनाएको छ ।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले अमेरिकी कम्पनी र प्रविधिको महत्वपूर्ण भूमिका हुन सक्ने बताइन् । उनले मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपालको विद्युत् तथा यातायात प्रणाली सुदृढ बनाउन भइरहेको सहयोगले पुनःस्थापनामा योगदान पुर्याइरहेको उल्लेख गरिन् । उनले विपद्पछिको पुनर्निर्माणसँगै नेपालको डिजिटल रूपान्तरणमा अमेरिकी प्रविधिको उपयोग र व्यवसायमैत्री सुधारमार्फत अमेरिकी कम्पनीका लागि अवसर सिर्जना गर्न सकिने विषयमा पनि जोड दिएकी छन् ।

