प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व आवश्यक- सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए ।

उनले भने-‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला गर्नुहुँदैन । यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ । अब डिजिटल पार्लियामेन्टलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय, कर्मचारी र माननीय सदस्यले अपनत्व लिनुपर्छ ।’ 

डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।

सचिवालयका अनुसार प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक तथा कार्यसूची, विधेयकको प्रगति, संसदीय अभिलेख र नागरिकका लागि सार्वजनिक सूचना पहुँचलगायत सुविधा समेटिनेछन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।