असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।

भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको सडकमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो  । अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो ।

सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको दसौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।

हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।