सञ्जय मिश्रा//न्युज कारखाना
रौतहट, ३० भदौ । भारतको बेंगलुरुमा क्यान्सरलगायत गम्भीर रोगका बिरामीलाई प्रयोग गरिने औषधिसँग सम्बन्धित ठूलो र्याकेटको पर्दाफास भएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार नक्कली तथा पुनःप्याकेजिङ गरिएका क्यान्सरका औषधि, जीवनरक्षक औषधि र आईसीयूमा प्रयोग हुने इन्जेक्सन बेंगलुरुका ९० भन्दा बढी अस्पताल तथा क्लिनिकमा आपूर्ति गरिएको हुन सक्ने आशंका गरिएको छ।
बेंगलुरु प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) र ड्रग्स कन्ट्रोल विभागको संयुक्त अनुसन्धानपछि फार्मेसी सञ्चालक वीरेश कुमार जैन पक्राउ परेका छन्। उनी उक्त सञ्जालमा संलग्न रहेको आशंका गरिएको छ।
मिनर्भा सर्कलनजिकै रहेको कृपा हेल्थकेयरमा छापा मार्दा ठूलो परिमाणमा शंकास्पद औषधि फेला परेपछि अनुसन्धानले गति लिएको हो।
अनुसन्धानकर्ताहरूका अनुसार उक्त सञ्जालले अस्पताल, क्लिनिक तथा मेडिकल पसलहरूमा नक्कली क्यान्सरका औषधि, जीवनरक्षक औषधि र आईसीयू इन्जेक्सन आपूर्ति गर्ने गरेको हुन सक्ने देखिएको छ।
शंकास्पद औषधि बजार मूल्यभन्दा करिब ५० प्रतिशतसम्म छुटमा बिक्री हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। अनुसन्धानकर्ताहरूले सस्तो मूल्यका औषधि खरिद गरी तिनलाई फरक नाम र ब्रान्डमा पुनः लेबलिङ गरेर महँगोमा बिक्री गर्ने गरिएको आशंका गरेका छन्।
त्यसैगरी, म्याद गुज्रिएका औषधिलाई नयाँ कन्टेनरमा राखेर पुनःप्याकेजिङ गर्ने र प्रतिष्ठित औषधि कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नक्कली लेबल प्रयोग गर्ने गरिएको हुन सक्ने अधिकारीहरूको आशंका छ।
मिनर्भा सर्कलनजिकैको कृपा हेल्थकेयर परिसरलाई मेडिकल पसल, अस्पताल र क्लिनिकमा औषधि पठाउनुअघि भण्डारण तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
यस र्याकेटको सञ्जाल कर्नाटकबाहेक अन्य राज्यसम्म फैलिएको थियो कि थिएन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा १५ भन्दा बढी मेडिकल प्रतिनिधि औषधिको ढुवानी तथा वितरणमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ।
संयुक्त प्रहरी आयुक्त (पश्चिम) तथा एसआईटी प्रमुख वामसी कृष्णाका अनुसार र्याकेटको वास्तविक दायरा अझै खुल्न बाँकी छ। प्रहरीले औषधिको कारोबार, आपूर्ति तथा रकमको लेनदेन पत्ता लगाउन जफत गरिएका बैंक कारोबार विवरण, खरिद–बिक्रीका अभिलेख तथा अन्य कागजात अध्ययन गरिरहेको छ।
प्रहरीका अनुसार वीरेश कुमारले करिब पाँच वर्षदेखि उक्त फर्म सञ्चालन गर्दै आएका थिए। अनुसन्धानकर्ताहरूले उनको सम्बन्ध प्रशान्त नाम गरेका व्यक्तिसँग रहेको दाबी गरेका छन्। प्रहरीले प्रशान्तलाई उक्त र्याकेटको मुख्य आरोपी तथा सम्भावित जिम्मेवार मानेको छ।
प्रशान्त भने हाल फरार छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। हालसम्म घटनामा वीरेश कुमार जैन मात्रै पक्राउ परेका छन्।

