काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा अर्याल र आङदेम्बेबीच समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल भएको थियो ।
सभामुखको सचिवालयका अनुसार प्रतिनिधिसभाको असोज महिनाको क्यालेन्डर र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले क्यालेन्डरमा उल्लेख प्रश्नोत्तर कार्यक्रममा सहभागिता नजनाउने गरेका छन् ।
प्रधानमन्त्री बनेपछि बालेनले एकपटक मात्र प्रतिनिधिसभामा प्रश्नोत्तर दिएका छन् । तर त्यो पनि क्यालेन्डरमा उल्लेख भएअनुसार होइन ।
आफूलाई मन लागेको दिनमा प्रतिनिधिसभामा उपस्थित भएका बालेनले त्यसबेला ‘भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएका थिए । जुन निकै विवादित बनेको थियो । त्यसयता उनी बेलाबेलामा प्रतिनिधिसभामा उपस्थित हुन्छन् । केही दिनअघि मात्र उनले रसुवाको भोटेकोशी बाढीका बारेमा संसद्मा बोलेका थिए ।

