बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

नुवाकोट । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

भदौ २० गते सञ्चालन गरिएको शिविरबाट दुई सय जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिनेमा एक सय एक जना ज्येष्ठ नागरिक थिए। तीमध्ये ४८ जना महिला र ५३ जना पुरुष रहेका थिए ।

बाढीका कारण सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगका नियमित औषधि गुमाएका प्रभावितलाई शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । शिविरमा ज्येष्ठ नागरिक रोग, हाडजोर्नी, मुटु तथा दन्त रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

बाढीपछि मानसिक तनावमा रहेका प्रभावित परिवारलाई लक्षित गरी २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन र मनोसामाजिक परामर्शसमेत दिइएको थियो । साथै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरीका आधार शिविरलाई आवश्यक केही महत्वपूर्ण औषधिसमेत उपलब्ध गराइएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।