अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौँ, २७ वैशाख: मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनअन्तर्गत आज ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाबारे विमर्श भएको छ ।

सम्मेलनमा स्वदेशी र विदेशी विज्ञ तथा अभियन्ताहरूले संविधानमा व्यवस्था गरिएअनुसार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई सरकार, निजी क्षेत्र र हरेक परिवारले पालना गर्नुपर्नेमा जोड दिइएका छन् ।

कार्यक्रममा दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष छत्र प्रधानले नेपालको संविधानको धारा ४१ मा राज्यबाट ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सुरक्षा तथा धारा ४३ मा आर्थिक रूपमा विपन्न र असहाय नागरिको सामाजिक सुरक्षाको हकको प्रबन्ध गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्र सरकार र विभिन्न स्थानीय तहले सामाजिक सुरक्षा भत्ता, सरकारी अस्पतालमा निःशुल्क सेवा, यातायातमा छुट, घरदैलो स्वास्थ सेवा प्रदान गरिएका बारे कार्यक्रममा अवगत गराइएको थियो । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले पालिकाले नागरिक आरोग्य केन्द्रलगायत ज्येष्ठ नागरिकलाई स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष महत्व दिएको बताउनुभयो ।

जनसङ्ख्याविद् प्रा डा पदमप्रसाद खतिवडाले २०५८ ज्येष्ठ नागरिकसम्बन्धी नीति र २०६३ मा कानुन आइसकेको उल्लेख गर्दै नेपालले नीतिगत तहमा उदाहरणीय काम गरेको बताउनुभयो ।

पूर्वराजदूत उदयराज पाण्डेले समूह र परिवारमा सँगै बस्दा सम्मान, प्रेरणा र सुरक्षा प्रदान गरिनुपर्नेमा जोड दिनुभयो । जनसङ्ख्या अध्येता चेतन अधिकारीले सञ्चारमाध्यमले राजनीतिक विषयलाई बढी महत्व दिँदा ज्येष्ठ नागरिकका विषय ओझेलमा परेको विश्लेषण गर्नुभयो ।

प्रतिष्ठनका कार्यकारी निर्देशक डा दीपेन्द्र श्रेष्ठले दुईदिने सम्मेनलनका निष्कर्षलाई समापनसत्रमा घोषणापत्रका रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिएको उक्त सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउद्योगमन्त्री केशवप्रसाद बडाल, पूर्वशिक्षामन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।

‘ज्येष्ठ नागरिकको अनुभव लिऔँ, सभ्य समाजको निर्माण गरौँ’ भन्ने नाराका शनिबार सम्मेलन सुरु भएको थियो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।