सञ्जय मिश्रा
रौतहट १४ असोज । मधेस प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले मातहतका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ।
पथलैयास्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेत र आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन करारमा हस्ताक्षर भएको हो।
कार्यालयका प्रवक्ता डिएसपी नवराज न्यौपानेका अनुसार
सम्झौतामा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्रहरी सेवाप्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। यस्तै शासकीय सुधार, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलगायतका विषयसमेत सम्झौतामा समेटिएका छन्।
कार्यक्रममा गत आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसार भएका कामको समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि तय गरिएका जिम्मेवारी र लक्ष्यबारे छलफल गरिएको थियो।
एसपी बस्नेतले सम्झौतामा उल्लेख गरिएका जिम्मेवारीलाई अनुशासित, पारदर्शी र उत्तरदायी ढंगले कार्यान्वयन गर्न मातहतका ट्राफिक प्रमुखलाई निर्देशन दिएका थिए। उनले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सेवाग्राहीमैत्री प्रहरी सेवा प्रवाहमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
कार्यक्रममा प्रवक्ता न्यौपाने, इन्स्पेक्टर रमेश राईसहित वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरूका साथै कार्यसम्पादन करारमा रौतहटका ट्राफिक प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगर, बाराका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हरि भट्टराई, पर्साका दीपेन्द्र श्रेष्ठ, सर्लाहीका झलक शर्मा, महोत्तरीका बाबुराम कार्की, धनुषाका खगेन्द्र दाहाल, सिरहाका नवीन मरासैनी र सप्तरीका उमेशमान अमात्यले हस्ताक्षर गरेका छन्।
कार्यालयले कार्यसम्पादन करारमार्फत प्रत्येक जिल्लामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्बन्धी जिम्मेवारीलाई थप स्पष्ट बनाउँदै लक्ष्यअनुसारको कामको नियमित मूल्यांकन गर्ने जनाएको छ।

