सुभाष कायस्थ
जनकपुरधाम, ९ भदौ । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका ६ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनाल अनुसार प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि पेश गरिएको छ ।
पक्राउ परेकामध्ये एक जना कुटपिट मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन् भने एकजना सवारी ज्यान मुद्दामा २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका प्रतिवादी हुन् ।
अन्य पक्राउ पर्नेहरुमा डाका मुद्दामा ६ वर्ष २८ दिन कैद तथा ९ लाख ४५ हजार ४५० रुपैयाँ जरिवाना तोकिएका एक जना, अवैध विदेशी मुद्रा कारोबार मुद्दामा ९ लाख १६ हजार ६६६ रुपैयाँ जरिवाना तोकिएका एकजना रहेको प्रवक्ता खनालले जनाएको छ ।
यस्तै लागूऔषध मुद्दामा २ वर्ष कैद तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका एक–एक जना फरार प्रतिवादी रहेको धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ । अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई धनुषा प्रहरीले निरन्तरता दिँदै आएको छ ।

