उद्धव थापालाई पदमुक्त गर्न राजेन्द्र लिङदेनले लेखे बागमतीका सभामुखलाई पत्र

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन् ।

अध्यक्ष लिङदेनले पार्टीको निर्णयअनुसार थापाले पार्टीका विभिन्न निर्णय तथा निर्देशन उल्लंघन गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका सांसदहरूको तर्फबाट समर्थन जनाएको उल्लेख गर्दै पदमुक्त गर्न पत्रमा लेखेका छन् ।

उनले पार्टीको नीति, निर्देशन र विधानविपरीत काम गरी गम्भीर अनुशासन उल्लंघन गरेकोले थापालाई प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरिएको बताएका छन् ।

गत भदौ ४ गते बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निलम्बन गर्ने र प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो । 

लिङदेनले सभामुखलाई लेखेको पत्रका साथमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय, बागमती प्रदेश संसदीय दलको निर्णय, संसदीय दललाई पार्टीले दिएको निर्देशन, अनुशासन समितिको स्पष्टीकरण, अनुशासन समितिको सिफारिस, बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र समाबेश गरिएको उल्लेख गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।