भदौं २३ र २४ को घटना अर्थात विदेशी जासुसी विद्रोहः रविन्द्र मिश्र

भदौ लाग्यो। गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन। कहिल्यै छोड्ने छैन।

मैले आजसम्म पहिलो दिनलाई ‘जेन जी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ को संज्ञा दिँदै आएको थिएँ।

संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरे पछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरे पछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ को संज्ञा दिने निर्णय गरेको छु।

यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था (हरू) ले निर्दोष नेपाली युवाहरू (जेन जी) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको ‘जासुसी विद्रोह’ सम्पन गरे।

यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन।

त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो पनि थाहा छैन।

तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे हलिउडको कुनै विश्वविख्यात निर्देशकले ‘जासुसी सिनेमा’ निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु।

यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका ‘कभर्ट अप्रेसन’हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले ‘हामीले गरेको’ भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो। 

नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्न पर्छ। नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल–नवीनसमझदारीमा जानै पर्छ।

सामाजिक सञ्जालवाट

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।