सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा र नेकपा एमालेबीच भागबण्डा मिलेको छ ।
नेकपाबाट मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन । बुधबार दुवै दलले ३-३ मन्त्रालय लिने गरि सहमति गरेका हुन् ।
जस अनुसार नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ भने एमालेले सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालय लिने भएको छ ।
साथै दुवै दलबीच यसअघि गरिएका प्रशासनिक संरचना सुधारका निर्णय कार्यान्वयन गर्ने, २०८२/८३ को बजेट पारित गर्दा भएका सहमति अनुसार कार्यान्वयन गर्ने, ३० लाख भन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गर्ने, नयाँ, नीति, कार्यक्रम, मनोनयन र नियुक्तिमा आपसी सहमति पश्चात मात्र कार्यान्वयन गर्ने र सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरि प्रदेश सरकार संचालन गर्ने सहमति भएको छ । सहमतिमा एमालेका दलका नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीले हस्ताक्षर गरेका छन् ।
सहमतिपछि मुख्यमन्त्री शाहीले आजै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र एमालेका १० प्रदेशसभा सदस्य रहेका छन् ।

