विज्ञापनको विषयमा शाहरुख, अजय र टाइगरलाई कारण देखाऊ नोटिस

काठमाडौँ । भारतको महाराष्ट्र खाद्य तथा औषधि प्रशासनले बलिवुड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस पठाएको छ ।

प्रतिबन्धित विमल पान मसालाको अप्रत्यक्ष प्रचार हुने गरी विमल इलायचीको विज्ञापनमा सहभागी भएको आरोप लगाउँदै प्रशासनले १५ दिनभित्र स्पष्टीकरण मागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

समाचार संस्था पीटीआईका अनुसार तीनै जनालाई गत ११ अगस्टमा नोटिस पठाइएको हो । प्रशासनले विज्ञापनमा प्रयोग गरिएको ‘विमल’ नाम, उत्पादन र संवादबाट पान मसालाको प्रचार भएको देखिएको जनाएको छ ।

महाराष्ट्रमा सुर्ती तथा निकोटिनयुक्त गुटखा र पान मसालामाथि सन् २०१२ देखि प्रतिबन्ध छ । पछिल्लो पटक गत १३ जुलाईदेखि थप एक वर्षका लागि यसको उत्पादन, भण्डारण, ओसारपसार र बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।

प्रशासनका अनुसार गत २५ मेदेखि ३१ जुलाईसम्म प्रतिबन्धित गुटखा तथा पान मसालाविरुद्ध ६५८ स्थानमा छापा मारिएको थियो । त्यस क्रममा १५ करोड ११ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद, ५१९ मुद्दा दर्ता र ७०१ जना पक्राउ परेका छन् । सामग्री ओसारपसारमा प्रयोग भएका ७८ सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन् ।

विमल इलायचीको विज्ञापन यसअघि पनि विवादमा परेको थियो । सन् २०१८ मा स्वास्थ्य सेवा महानिर्देशनालयले कम्पनीलाई नोटिस पठाएको थियो भने सन् २०२४ मा दिल्ली उच्च अदालतले सुर्तीविहीन उत्पादनको विज्ञापनसम्बन्धी कम्पनीको पक्षमा फैसला गरेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।