झपट रावलको ओलीलाई कडा प्रश्न, ‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आवारा’ हरूले आफुलाई हटाउन खोजेको अभिब्यक्ति दिए पछि एमाले नेता झपट रावलले चार बुदेँ प्रस्ताव अगाडी राखेका छन्।

हिजो इलामको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुलाई ‘च्यासलको क्यान्टिनमा बसेर आवारा’हरूले हटाउन खोजेको अभिब्यक्ति दिए पछि यतिखेर नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालवाट प्रश्न उठाइरहेको बेला रावलले पनि सो बारेमा टिप्पणी गरेका हुन ।
  

‘पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ‘आवारा’ को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ, हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो ? यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने ?’ उनले अध्यक्ष ओली माथी प्रश्न गर्दै केही सिधा र बैचारिक प्रश्न उठाएका छन् ।

उनले ‘कमरेड अध्यक्षलाई केही सीधा र वैचारिक प्रश्नहरू’ भन्दै चार बुदाँमा अध्यक्ष ओलीको सो अभिब्यक्तिवारेमा टिप्पणी गरेका हुन । उनले लेखेका छन्, 

कमरेड, हालै इलामको कार्यक्रममा यहाँले व्यक्त गर्नुभएका अभिव्यक्ति र तिनले उब्जाएका गम्भीर वैचारिक जिज्ञासाहरूले मनमा गहिरो तरङ्ग पैदा गरेका छन्। पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको यो खुला मञ्चमार्फत आफ्ना स्पष्ट विचार राख्न बाध्य भएको छु। आशा छ, यसलाई अन्यथा नबुझि सकारात्मक रूपमा ग्रहण गरिनेछ र रिसानीको जिम्मा कमरेड कै 


१. चिया गफ कि पार्टीको जीवन्त धड्कन ? 

पार्टी क्यान्टिनमा चियाको चुस्कीसँगै वैचारिक मन्थन गर्ने निष्ठावान् कार्यकर्ताहरूलाई ‘आवारा’ को उपमा दिइरहँदा इतिहासले प्रश्न गरिरहेको छ, हिजोका सङ्घर्षपूर्ण दिनहरूमा तिनै कार्यकर्ताहरूसँगै बसेर राजनीति र क्रान्तिका पाठ सिकाउने कमरेड स्वयं के हुनुहुन्थ्यो ? यदि विचार र नीतिको बहस गर्ने कार्यकर्ता आवारा हुन् भने, तिनलाई नेतृत्व दिने संस्था र चौतारीलाई चाहिँ के भन्ने ?


२. नेतृत्व परिवर्तनः हिजो अधिकार, आज अराजकता ?


पार्टीमा नेतृत्व रूपान्तरण र हस्तान्तरणको माग गर्नेहरूलाई सोझै ‘अराजक’ देख्नु कुन मार्क्सवादी सिद्धान्तभित्र पर्छ ? हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र सङ्घर्ष नगरिकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र ? हिजो आफूले गर्दा ‘न्यायोचित क्रान्ति’ हुने तर आज अरूले उही माग दोहोर्याउँदा ‘अराजकता’ ठहरिने यो कस्तो दोहोरो मापदण्ड हो ?


३. आन्तरिक लोकतन्त्र कि एकाधिकारवादी धम्की ?


पार्टी सुधार र रूपान्तरणको आवाज उठाउनेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति किमार्थ सुहाउँदैन। हिजोका अग्रज नेताहरूले पनि तपाईंलाई यसै गरी धम्क्याएर पाखा लगाएको भए आज तपाईंको राजनीतिक अस्तित्व कहाँ हुन्थ्यो कमरेड ? याद रहोस्, यो पार्टी कसैको निजी कम्पनी वा प्राइभेट लिमिटेड होइन, हजारौँ सहिदको रगत, लाखौँ कार्यकर्ताको पसिना र बलिदानले उभिएको साझा घर हो।


४. अवसरको हिसाब किताब र आत्मसमीक्षाको प्रश्नः


अरू कोही जिम्मेवारीमा पुग्दा ‘पटक पटक अवसर पाएको’ वा ‘मैले नै बनाइदिएको’ भनेर अवमूल्यन गर्ने, अनि कमरेडको आफ्नै हकमा भने त्यो नियम कहिल्यै लागू नहुने ? अवसर र जिम्मेवारीको यो हिसाब किताब अरू साधारण कार्यकर्ताका लागि मात्र बनाइएको मानक हो कि नेतृत्वको आफ्नै लागि पनि लागू हुन्छ ?


यी प्रश्नहरू कुनै व्यक्ति विशेष विरुद्धको व्यक्तिगत आक्रोश वा पूर्वाग्रह होइनन्। यो त पार्टीलाई सही दिशामा डोर्याउने, आन्तरिक लोकतन्त्रलाई जीवित राख्ने र वैचारिक मन्थनलाई ऊर्जा दिने एउटा निष्ठावान् कार्यकर्ताको सचेत र जिम्मेवार आवाज हो। 


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।