पानीको विषयमा खेलाडीबीच भएको विवादमा ६२ वर्षीय श्रीलंकन प्रशिक्षकको मृत्यु

काठमाडौँ । श्रीलंकामा पानीको विषयलाई लिएर दुई खेलाडीबीच भएको विवादमा चोट लागेका ६२ वर्षीय क्रिकेट प्रशिक्षक सुमिथ फर्नान्डोको मृत्यु भएको छ । घटना अगस्ट ८ मा भएको भए पनि यसबारेको जानकारी बिहीबार सार्वजनिक भएको हो ।

प्राप्त विवरणअनुसार एक खेलका क्रममा दुई खेलाडीबीच पानीको विषयमा विवाद भएको थियो । सोही क्रममा प्रशिक्षक फर्नान्डोलाई चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा अगस्ट ११ मा उनको मृत्यु भएको हो । 

फर्नान्डो श्रीलंकाका पूर्व क्रिकेट कप्तान कुसल मेन्डिसलाई विद्यालय तहमा प्रशिक्षण दिने प्रशिक्षकसमेत थिए । घटनामा प्रहरीले १७ वर्षीय एक विद्यालयका खेलाडीलाई पक्राउ गरेको छ । पक्राउ परेका खेलाडीलाई कोलम्बोस्थित अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई अगस्ट १७ सम्म बाल निगरानीमा राख्न आदेश दिएको छ ।

फर्नान्डो कोलम्बोको बाहिरी क्षेत्र मोरातुवास्थित प्रिन्स अफ वेल्स कलेजका पूर्व प्रशिक्षक थिए । उनी ब्लुमफिल्ड क्रिकेट एन्ड एथलेटिक क्लबका मैदान व्यवस्थापकसमेत रहेका थिए । उक्त क्लबले श्रीलंकाको प्रथम श्रेणी क्रिकेट प्रतियोगितामा खेल्दै आएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।