सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै

दमौली (तनहुँ), २५ वैशाखः तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ ।

जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवार मध्येको वास्तविक सुकुमवासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

उहाँका अनुसार वास्तविक पहिचान गरिएका सुकुमवासीलाई तत्काल अन्यत व्यवस्थापन (सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरुले गर्ने निर्णय भएको छ ।

यस्तै, वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने योजनासहित आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयमा माग गर्नसक्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

प्रजिअ तिवारीले जिल्लास्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने बताउनुभयो । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यका लागि सम्बन्धित निकायबाट गरिने कार्यका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आमजनतालाई सुसूचित गराइने उहाँले बताउनुभयो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।