‘म मदनकृष्ण’ मा हरिवंशको श्रीमतीको भूमिकामा वर्षा राउत

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो ।

उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन् । हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् । अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन् ।

‘हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ । निर्माण टिमले वर्षालाई अरुणको अपोजिटमा साइन गराउँदा उहाँले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,’ निर्देशक मिलन चाम्सले भने ।

हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहनेछिन् । किनकी अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।

वर्षाको केही समयअघि रिलिजको भएको चलचित्र ‘मालती मंगले’मा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । म मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।