काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई सेवाको गुणस्तर सुधार, सञ्जाल विस्तार र उपभोक्ता गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न ८ बुँदे निर्देशन दिएको छ ।
प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार यस्तो निर्देशन दिएको हो ।
निर्देशनअनुसार सेवा प्रदायकले मोबाइल सेवाको गुणस्तर, सञ्जालको विश्वसनीयता र ग्राहक सेवामा सुधार गर्नुपर्नेछ। प्राधिकरणले तोकेका मापदण्ड पूरा भए-नभएको विवरण नियमित रूपमा बुझाउनुपर्नेछ ।
ग्राहकका गुनासा चौबीसै घण्टा सुनुवाइ हुने व्यवस्था गर्नुपर्नेछ। गुनासो समाधानका लागि आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्न र ग्राहक सन्तुष्टि सर्वेक्षण नियमित रूपमा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।
मोबाइल सेवा कमजोर रहेका क्षेत्र पहिचान गरी प्राथमिकताका आधारमा सञ्जाल विस्तार गर्नुपर्नेछ । औद्योगिक तथा प्रमुख सहरी क्षेत्रमा उच्च गतिको मोबाइल इन्टरनेट सेवा विस्तार गर्नुपर्ने र सेवा पुगेका स्थानको विवरण नेपालको नक्सामा कम्तीमा तीन महिनामा एकपटक अद्यावधिक गर्नुपर्नेछ ।
देशभर चौथो पुस्ताको मोबाइल सेवा विस्तार तथा गुणस्तर सुधार गर्न र प्रमुख सहरबाट पाँचौँ पुस्ताको मोबाइल सेवा सुरु गर्न चरणबद्ध योजना पेस गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।
उपलब्ध रेडियो आवृत्तिको अधिकतम उपयोग गर्न, दूरसञ्चार पूर्वाधारको प्रभावकारी प्रयोग गर्न तथा दोहोरो लगानी घटाउन पनि सेवा प्रदायकलाई भनिएको छ ।
प्राधिकरणबाट अनुदान प्राप्त आयोजनाको काम, समयसीमा र मापदण्ड निर्धारण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नियमित प्रगति विवरण बुझाउनुपर्नेछ। साथै, साइबर सुरक्षा र सञ्जाल सुरक्षा सुदृढ गर्न नियमित सुरक्षा परीक्षण, विपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता योजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
सेवा शुल्कलाई बजारको माग र प्रविधिको विकासअनुसार परिमार्जन गर्न लागतमा आधारित शुल्क विश्लेषण गरी आवश्यक प्रस्ताव प्राधिकरणमा पेस गर्न पनि भनिएको छ ।

