हेलो सरकारमा ठूलो परिवर्तन, अब एउटै प्रणालीबाट गुनासो दर्ता र समाधान

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि अघि बढाइएको छ ।

नयाँ प्रणाली लागू भएपछि फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने सबै गुनासो एउटै पोर्टलबाट व्यवस्थापन गरिनेछ । नागरिकले सम्बन्धित कार्यालयमै सिधै गुनासो दर्ता गर्न सक्नेछन् भने आवश्यक परे हेलो सरकारले स्वचालित रूपमा सम्बन्धित निकायमा पठाउने व्यवस्था हुनेछ । साथै निःशुल्क नम्बर ११११ मा आएको गुनासो सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइने व्यवस्था गरिनेछ ।

प्रणालीमा गुनासोको अवस्थाबारे सेवाग्राहीले अनलाइनबाटै जानकारी लिन सक्ने, समाधानपछि आफ्नो प्रतिक्रिया दिन सक्ने तथा एउटै विषयमा पटक-पटक दर्ता भएका गुनासोलाई एउटै अभिलेखका रूपमा व्यवस्थापन गर्ने सुविधा रहनेछ ।

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने तयारी पनि गरेको छ । प्रस्तावअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था हुनेछ ।

यता, हेलो सरकारमा गुनासो दर्ता हुने क्रम उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो । पछिल्ला पाँच वर्षमा दर्ता भएका कुल गुनासामध्ये आधाभन्दा बढी गुनासा गत आर्थिक वर्षमै प्राप्त भएका छन् ।

चालु आर्थिक वर्षमा पनि गुनासो आउने क्रम तीव्र छ । साउन १ गतेदेखि १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा प्राप्त भएकामध्ये ६ हजार ६०१ गुनासो फर्छ्योट भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हेलो सरकारलाई अब गुनासो दर्ता गर्ने माध्यममा मात्र सीमित नराखी सार्वजनिक सेवा सुधार, सुशासन प्रवर्द्धन र नीति निर्माणमा सहयोग पुर्‍याउने प्रभावकारी प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखिएको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।