रसुवाको बनुवा घुम्तीमा सडकको ग्याबियन भासियो

रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु राजमार्गको बनुवा घुम्ती क्षेत्रमा सडक संरक्षणका लागि निर्माण गरिएको ग्याबियन (तारजाली) भासिएको छ । ग्याबियन भासिएपछि उक्त सडकखण्ड जोखिमपूर्ण बनेको भन्दै स्थानीयले तत्काल मर्मतको माग गरेका छन् ।

स्थानीयका अनुसार ग्याबियन भासिँदा सडकको आधार कमजोर बन्दै गएको छ । यसले दैनिक आवतजावत गर्ने सवारीसाधन र पैदल यात्रुलाई दुर्घटनाको जोखिम बढाएको छ । विशेषगरी वर्षायाममा थप क्षति हुन सक्ने भएकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनले बताए ।

स्थानीयका अनुसार सडकमुनि ठूलो बस्ती रहेकाले ग्याबियन अझै भासिएमा सडक संरचनामा गम्भीर क्षति पुग्न सक्ने र ठूलो दुर्घटना निम्तिने खतरा रहेको छ। त्यसैले सम्बन्धित निकायले ढिलाइ नगरी स्थलगत निरीक्षण गरी आवश्यक मर्मत तथा संरक्षणको काम तत्काल सुरु गर्नुपर्ने उनीहरूको माग छ।

स्थानीयवासीले सडक प्रयोग गर्ने सबै चालक र यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने बताएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।