योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्- ‘कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय, सम्बन्धित प्रदेशको पार्टी कमिटी र संसदीय दलमा छलफल गरेर टुंग्याउने सुल्टो बाटो किन नहिडेको होला? नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राखथ्यौ होला नि? यही काम समझदारीकासाथ पारदर्शी ढंगले गर्न पनि त सकिंन्छ नि? साट सुट, ठोक ठाक अनि शक्तिको भाषा किन? कसैका बारेमा एउटा मापदण्ड अनि अरूका बारेमा थरी थरीका मापदण्ड ?’

भट्टराईले नेकपा कालदेखि नै कर्णालीमा एमाले निर्णायक शक्तिका रूपमा रहे पनि मुख्यमन्त्री पद माओवादी र नेपाली कांग्रेसले पटक–पटक पाएको उल्लेख गरेका छन् । पछिल्लो पटक एमाले–कांग्रेस गठबन्धन बनेपछि भने एमालेले जसरी पनि कर्णालीको नेतृत्व लिनुपर्ने र वरिष्ठ नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन आफूहरूले सचिवालय बैठकमै जोड दिएको स्मरण गरेका छन् ।

उनले यामलाल कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारको छवि सकारात्मक बनेको, बजेट निर्माण, कार्यान्वयन तथा सुशासनका क्षेत्रमा राम्रो काम भएको भन्ने आम धारणा रहेको दाबी गर्दै यस्तो अवस्थामा कँडेल र कर्णाली प्रदेश कमिटीलाई नै किन ‘सजाय’ दिइयो भन्ने प्रश्न समेत गरेका छन् ।

एमाले र नेकपाबीचको सहमति पछि कर्णालीआमा नेकपाका मुख्यमन्त्री बनेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।