हैदाराबाद, १७ साउन । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री रश्मिका मन्डनाका बारेमा चिन्ताजनक खबर बाहिर आएको छ।
प्राप्त जानकारी अनुसार आफ्ना आगामी चलचित्रहरूको छायांकनको तयारीका क्रममा उनी घाइते भएकी छिन्, जसका कारण चिकित्सकहरूले उनलाई करिब ६ हप्तासम्म पूर्ण आराम गर्न सुझाव दिएका छन्।
उनको चोटका कारण ‘रणबाली’ र ‘माइसा’ जस्ता आगामी प्यान–इन्डिया चलचित्रहरूको छायाङ्कनमा ढिलाइ भएको छ, जसले गर्दा निकै कठिन वा चुनौतीपूर्ण छायाङ्कन प्रक्रियाबारे चिन्ता बढेको छ।
हालैका दिनहरूमा जुनियर एनटीआर, राम चरण, बालकृष्ण र पवन कल्याणलगायतका धेरै तेलुगु कलाकारहरू पनि छायाङ्कनका क्रममा घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार रश्मिका एक चुनौतीपूर्ण नृत्य र एक्सन दृश्यको अभ्यास गरिरहेको बेला चिप्लिएर नराम्ररी लडिन्। दुर्घटना लगत्तै उनलाई स्वास्थ्य जाँचका लागि तत्काल अस्पताल लगियो। रिपोर्टहरूका अनुसार लड्दा उनको कम्मरको भागमा गम्भीर चोट लागेको छ। केही सञ्चारमाध्यमले उनको कम्मरको हड्डी भाँचिएको र तिघ्राको टेन्डनमा गम्भीर चोट लागेको दाबी पनि गरेका छन्। यद्यपि, हालसम्म यी दाबीहरूको आधिकारिक पुष्टि भने भएको छैन।
चोटको प्रकृतिलाई ध्यानमा राख्दै चिकित्सकहरूले रश्मिकालाई तत्कालका लागि सुटिङ तथा कडा शारीरिक गतिविधिहरूबाट टाढै रहन सुझाव दिएका छन्। उनलाई करिब ६ हप्तासम्म पूर्ण आरामको आवश्यकता पर्न सक्छ, जसपछि स्वास्थ्यलाभका लागि ‘रिह्याबिलिटेसन’ को प्रक्रिया आवश्यक हुनेछ। उल्लेखनीय छ कि यस चोटका कारण उनका आगामी चलचित्र तथा विज्ञापनहरूको छायांकन रोकिएको छ । पूर्ण रूपमा निको भएपछि मात्र उनले पुनः काम सुरु गर्न सक्ने छिन्।
रश्मिका घाइते भएको खबरपछि सामाजिक सञ्जालमा उनका प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। उनी छिट्टै निको भएर ठूलो पर्दामा फर्कनेछन् भन्ने आशा सबैले गरिरहेका छन्।

