काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको मुख्य सचेतकमा सन्तोष बुर्लाकोटी लाई मनोनित गरेको छ। पार्टी संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।
पार्टी नेतृत्वको निर्णयअनुसार बुर्लाकोटीले अब प्रतिनिधि सभामा रास्वपाका सांसदहरूलाई समन्वय गर्दै संसदमा पार्टीको धारणा प्रस्तुत गर्ने, सांसदहरूको उपस्थिति र गतिविधिलाई व्यवस्थापन गर्ने तथा संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछन्। मुख्य सचेतकको जिम्मेवारी संसदभित्र पार्टी अनुशासन कायम राख्ने तथा पार्टीको आधिकारिक धारणा स्पष्ट रूपमा राख्ने महत्वपूर्ण पद मानिन्छ।
रास्वपाले पछिल्लो समय संसदीय गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीहरू पुनःविन्यास गर्दै आएको छ। सोही क्रममा बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।
