काठमाडौँ — भारत र बंगलादेशको विरोधका बाबजुद चीनले ब्रह्मपुत्र (यार्लुङ स्याङ्पो) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ। चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार सो आयोजनाको निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्।
लीले आयोजनाको विकास र व्यवस्थापन गर्ने गरी नयाँ कम्पनी ‘चाइना याजियाङ ग्रुप’ को समेत उद्घाटन गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले यो खबर प्रकाशित गरेका छन्।
चीनमा यार्लुङ स्याङ्पो भनिने यो नदी भारतको अरुणाचल प्रदेश प्रवेश गरेपछि ब्रह्मपुत्र र बंगलादेश छिरेपछि जमूना भनेर चिनिन्छ। यही नदीको तल्लो भागमा करीब १६७ अर्ब डलर लागतमा ७० हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदैछ।
भारत र बंगलादेशको चासो
भारतले गत वर्ष डिसेम्बरमै चीनसँग औपचारिक रूपमा आफ्नो चिन्ता व्यक्त गरिसकेको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले यसबारे भारतीय संसदमा जानकारी दिँदै दुई राष्ट्रबीच जनवरीमा भएको वार्तामा पनि यो विषय प्रमुख रूपमा उठेको उल्लेख गरेका थिए। बंगलादेशले पनि सो आयोजना प्रति गम्भीर चासो व्यक्त गरेको छ।
चीनले भने यो आयोजना ‘Run-of-the-River’ प्रणालीमा आधारित रहेको दाबी गर्दै आएको छ, जसमा नदीको पानीलाई ठूलो जलाशयमा थुपारेर नभई बहाव अनुसार बिजुली उत्पादन गरिने बताइएको छ। चीनले यस्तो आयोजना तल्लो तटीय क्षेत्रका लागि उपयोगी हुने र जलवायु परिवर्तन अनुकूलनमा समेत सहयोगी हुने दाबी गरेको छ।
वातावरणीय र भू-राजनीतिक चिन्ता
भारत र बंगलादेश दुवै पक्ष यो आयोजनाका सम्भावित पर्यावरणीय, भू-राजनीतिक र जलसम्पदा सम्बन्धी असरप्रति चिन्तित छन्। विशेषगरी भारतको जलविद्युत सम्भावनामा ब्रह्मपुत्र नदीको योगदान ४४ प्रतिशत रहेको बताइन्छ, भने नदीजन्य स्रोतमा झण्डै ३० प्रतिशत योगदान यसै नदीको रहेको छ।
यस परियोजनाले पानीको बहावमा प्रभाव पार्न सक्ने, जसले खानेपानी, सिँचाइ तथा खाद्यान्न उत्पादनमा असर पुर्याउने भारतको चिन्ता रहेको छ। त्यस्तै, आयोजनास्थल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले संरचना क्षति र प्रलयकारी बाढीको सम्भावना रहेको विज्ञहरू बताउँछन्।
रणनीतिक सन्दर्भ
ब्रह्मपुत्र परियोजना चीनको १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) मा समावेश गरिएको छ। यो आयोजना भारतको सीमासँग सटिएको गहिरो खोँचमा बनाइँदैछ, जुन स्थानबाट नदीले यू-टर्न लिएर भारततर्फ प्रवेश गर्छ। चीनले अरुणाचल प्रदेशलाई आफ्नो क्षेत्र भनेर ‘दक्षिण तिब्बत’ का रूपमा दाबी गर्दै आएको छ।
अमेरिकाको ‘द डिप्लोम्याट’ पत्रिकाका अनुसार आयोजनास्थल नजिक ब्रह्मपुत्र नदी अत्यन्तै भिरालो रुपमा बग्ने भएकाले हरेक किलोमिटरमा लगभग १५ मिटर सतह झर्दछ। यसले उच्च ऊर्जाशक्ति उत्पादनको सम्भावना देखाउँछ।
सुरुङमार्फत नदीको दिशा परिवर्तन
सन् २०२३ मा सार्वजनिक भएको एक प्रतिवेदनअनुसार चीनले हिमाल छेडेर ४ देखि ६ वटा सुरुङ बनाउने योजना बनाएको छ। प्रत्येक सुरुङ लगभग २० किलोमिटर लामो हुने र तिनले नदीको आधा पानीको दिशा परिवर्तन गर्न सक्ने आँकलन गरिएको छ।
जलवायु प्रतिबद्धता र चीनको रणनीति
चीनका राष्ट्रपति सी चिनफिङले सन् २०६० सम्म कार्बन न्यूट्रल बन्ने लक्ष्य लिएका छन्। चीन अझै पनि ६० प्रतिशतभन्दा बढी बिजुली कोइलाबाट उत्पादन गर्ने देश हो र विश्वकै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्र पनि हो।
सौर्य, वायु र जलविद्युतमा व्यापक लगानी गर्दै आएको चीनले वातावरणीय दबाब र अन्तर्राष्ट्रिय आलोचनालाई ध्यान दिँदै ब्रह्मपुत्रजस्तो विशाल आयोजनालाई अगाडि बढाएको विश्लेषण गरिएको छ।
