विश्व नेपाली ज्ञान सम्मेलनको तयारी तीव्र, सरकारबाट पूर्ण सहकार्यको प्रतिबद्धता

काठमाडौँ । गैरआवासीय नेपाली संघले आगामी जनवरीमा आयोजना गर्ने चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ को तयारीलाई तीव्र बनाएको छ । सम्मेलनको तयारीका विषयमा संघको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको हो ।

भेटका क्रममा संघका पदाधिकारीहरूले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकास तथा समृद्धिसँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएका थिए ।

संघले सम्मेलनलाई केवल छलफलमा सीमित नराखी नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र र विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन तथा परिणाममुखी सहकार्यको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले यस्ता सम्मेलनले नेपाल र विश्वभर रहेका नेपाली विज्ञबीच ज्ञान आदानप्रदान तथा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सम्मेलन सफल बनाउन सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको बताए। उनले विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव र सीपलाई नेपालको विकास तथा समृद्धिमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

भेटका क्रममा गैरआवासीय नेपाली नागरिकता ऐनको कार्यान्वयन, सम्पत्ति, लगानी, भिसा तथा अन्य सुविधासम्बन्धी विषयमा पनि छलफल भएको थियो। मन्त्री खनालले गैरआवासीय नेपालीसँग सम्बन्धित केही कानुनी व्यवस्थामा आवश्यक संशोधनको तयारी भइरहेको जानकारी दिँदै त्यसबाट नेपालमा लगानी र आर्थिक गतिविधि सञ्चालन गर्न थप सहज वातावरण बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँगको भेटमा सम्मेलनले नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास र ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारी अभियानलाई टेवा पुर्‍याउने विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता र उद्यमीहरूको ज्ञान तथा अनुभवलाई नेपालको विकाससँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै ज्ञान हस्तान्तरण, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य र नवप्रवर्तन प्रवर्द्धनमा गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

उनले सरकारले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिँदै त्यस अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपाली विज्ञहरूको सक्रिय सहभागिता आवश्यक हुने बताए ।

गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि, सीप र अनुभवलाई नेपालको सुशासन, आर्थिक रूपान्तरण तथा दिगो विकासका राष्ट्रिय प्राथमिकतासँग जोड्ने उद्देश्यका साथ चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ आयोजना गर्न लागेको जनाएको छ ।

यसअघि संघले सन् २०१८, २०२० र २०२३ मा विश्व नेपाली ज्ञान सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ। ती सम्मेलनबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाएर चौथो संस्करण आगामी जनवरीमा आयोजना गरिने तयारी गरिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।